Rakshabandhan (रक्षाबन्धन)

हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व जनै पूर्णिमा नयाँ यज्ञोपवित धारणा तथा रक्षा-बन्धन गरी धुमधामका साथ मनाइन्छ । तागाधारी जातिले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौ, तिल, कुशद्वारा ऋषितर्पणी गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई जनै पूर्णीमा भन्ने गरिएको हो । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जे चिजले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसले नै म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले

“येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वाम् प्रतिबध्नामी रक्षेमा चलमा चल”

भनी रक्षासूत्र रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहिआएको छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राहृमण पुरोहितले यजमानको नाडीमा बाँधिदिने परम्परा छ ।

रक्षाबन्धन मर्यादा र आत्मा निग्रहद्वारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्व हो । रक्षासूत्रको बन्धन र टिका यस उत्सवको प्रमुख विधान हो । सूत्र आत्माको मयादा र संयमको प्रतीक हो र टिका आत्म स्वरुप स्थितिमा स्थित हुने प्रतीक हो । सूत्र कुनैपनि वस्तुलाई अविच्छिन गर्ने वस्तु हो । सुनियोजित एवं सुव्यवस्थित वस्तु एक सूत्रमा ग्रथित मानिन्छ । रक्षाबन्धनको सही अर्थ आफू आत्म स्थितिमा अचल, अडोल भएर पवित्रताको पालन गर्नु हो किनकि पवित्रताद्वारा नै मृत्युमाथि विजय प्राप्त गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.